काठमाडौं : निषेधाज्ञाको समयमा विवाहका लागि प्रयोग गरिने सवारी साधनका लागि पास नचाहिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि गर्न लागेको निषेधाज्ञाका लागि थप आदेशमा विवाहका पास नचाहिने उल्लेख गरेको हो।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जारी गरेको थप आदेशमा सवारीमा दुलहा-दुलहीसहित १५ जनासम्म जन्ती जान पास नचाहिने भएको छ। जारी सूचनामा भनिएको छ,‘विवाह तथा व्रतबन्ध आयोजनाको लागि १५ जनासम्मका सहभागी (दुलाहा दुलहीसहितका)हरुले ब्यानरसहितका दुईवटासम्म सवारी साधन प्रयोग गरी जिल्लाभित्र वा अन्तर जिल्लामा आवतजावत गर्नुपर्दा अनुमति पास आवश्यक नपर्ने तर उक्त कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यलयबाट जारी अनुमति पास लिनुपर्ने। विवाह/व्रतबन्धमा सहभागी भई अन्यत्र जिल्लाबाट फर्कनुपर्ने भएमा चालक सहित बढीमा सातजना सम्मको लागि स्थानीय तहको सिफारिस सहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासको लागि निवेदन पेश गर्नुपर्ने। मृत्यु संस्कार र बिरामी कुरुवाको रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानुपर्दा सम्बन्धित व्यक्ति उक्त व्यहोरा खुल्ने कागजात (निवेदन, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिस)सहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासका लागि निवेदन पेश गर्नुपर्ने।’

अत्यावश्यक खाद्य सामग्री अन्तर्गतको व्यवस्थामा डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष बिहान १०:०० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छ। बैंक तथा वित्तीय संस्था, विमा एवं वित्तीय कारोवार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारी साधनहरु सम्वन्धित कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने भएको छ।

साभार: अन्नपुर्ण पोष्ट

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *