रोल्पामा भीषण आगलागीबाट एउटा गाउँ नै सखाप भएको छ। त्रिवेणी गाउँपालिका वडा नम्बर दुईको पिराले भन्ने गाउँमा गएराती आगलागीबाट ४६ घरगोठ जलेर नस्ट भएका छन्। वनको बीचमा रहेको गाउँमा वनबाट फैलिएको आगोले गाउँमा २४ घर, ४ वटा भान्छा घर र १८ वटा गोठ जलेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले जानकारी दिए।

सामुदायिक वनमा फैलिएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगो नियनन्त्रणमा लिनका लागि स्थानीय, प्रहरी, जनप्रतिनिधि निरन्तर लागेपनि वनको ठूलो क्षेत्रफलमा आगो लागेका कारण आगो नियन्त्रण गर्न चुनौती रहेको अध्यक्ष वलीले जानकारी दिए। क्षतिको एकिन विवरण आउन अझै बाँकी रहेको छ। आगोबाट अरु घर पनि जोखिममा रहेको उनले बताए।

आगोले १० बाख्रा, सात वटा गाई गोरु, सुंगुर १ वटा जलेर नष्ट भएको वडा नम्बर २ का वडा अध्यक्ष कबिराज बुढामगरले जानकारी दिए। आगो साविक नुवागाउँ गाविसको वडा नम्बर १, २,  ३ र ४ मा फैलिएको उनको भनाई छ। आगो अझै नियन्त्रणमा आउन नसकेको र रामपुर, दहबन लगायतका गाउँ जोखिममा रहेको उनले बताए। सोमबारदेखि फैलिएको आगो टुनिखोला सामुदायिक वन, मुलाबारी सामुदायिक वन, रामपुर सामुादायिक वन, सल्लेरीडाँडा सामुदायिक वन र ठाडो लेख सामुदायिक वन क्षेत्रमा फैलिएको छ।

आगोले घरगोठ जलेपछि ४५ बढी घरपरिवार खुल्ला आकासमुनि बस्न बाध्य भएका छन्। गएराती आगलागी पीडितलाई चाउचाउ वितरण गरिएको र आज चामल, लत्ताकपडा वितरण गरिने भएको छ। लिबाङबाट प्रमुख जिल्ला अधिकारीसहितको टोलि घटनास्थलमा आउन लागेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *