काठमाडौँ, कोरोना भाइरसको दोस्रो लहर नेपालमा तीव्र गतिमा फैलिन थालेको छ। छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर अनियन्त्रित भएपछि नेपालमा पनि जोखिम बढेको हो।

जोखिम बढेसँगै सरकारले काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि १५ दिनको लागि निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञामा अत्यावश्यक वस्तु तथा सेवा बाहेकका अन्य क्षेत्र सबै बन्द गर्न सरकारले निर्देशन दिएको छ। यससँगै बैंक तथा वित्तीय सेवालाई अतिआवश्यक वस्तु तथा सेवाको सूचीमा राखेको छ।

निषेधाज्ञा लागू भए पनि बैंक तथा वित्तीय संस्थाहरु खुल्ला रहने भएका छन्। तर कोरोना भाइरसको दोस्रो लहरको अत्यन्तै जोखिम बढेकाले यस्तो अवस्थामा कसरी बैंकिङ सेवा सञ्चालन गर्ने भन्ने विषयमा बुधबार मात्रै निर्णय हुने बैंकर्स संघका प्रवक्ता अनिल शर्माले बताए।

उनका अनुसार बुधवार ९ बजे बैंकर्स संघको बैठकले बैंक सञ्चालनको मोडालिटी तय गर्नेछ । उनले भने,‘संघले सबैसँग बैंक कसरी सञ्चालन गर्ने भन्ने विषयमा सुझाव मागेका छौं। सञ्चालनका विषयमा आएका सुझावबाट निर्णय गर्छौं।’

जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञाको पत्र पठाएको तर मन्त्रिपरिषद्ले गरेको निर्णयको पत्र आउन बाँकी भएकाले बैठक भोलि मात्रै बस्ने गरी तयारी भएको शर्माको भनाइ छ।

बैंकिङ सेवा रोकिंदैन, सेवा सञ्चालनको मोडालिटी बनाएर लकडाउनमा पनि प्रभावकारी सेवा दिने गरी निर्णय हुन सक्ने शर्माले जानकारी दिए । यता राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले राष्ट्र बैंकले एक हप्ता अघि नै बैंक तथा वित्तीय संस्था सञ्चालनको विषयमा निर्देशन दिएको बताए।

उनका अनुसार राष्ट्र बैंकको निर्देशन पालना हुनेगरी बैंकहरुले सेवा सुचारु गर्नेबारे आफैं निर्णय लिन सक्नेछन्। उनले भने,‘बैंकहरुले ग्राहकहरुलाई दिइने छुट तथा सेवाको विषयमा कुनै पनि निर्देशन भएको छैन । सरकारले बैंकिङ सेवाबारे थप निर्णय गरे स्वतः कार्यान्वयनमा आउने छ।’

बैंकहरुले राष्ट्र बैंकको निर्देशन अनुसार न्यूनतम स्वास्थ्य मापदण्ड अपनाएर सेवा सुचारु गरिरहेको बताएका छन्। नेपाल राष्ट्र बैंकले वैशाख ६ गते कोरोना महामारीको दोस्रो लहर बढेसँगै बैंक तथा वित्तीय संस्थाहरूलाई ९ बुँदे स्वास्थ्य प्रोटोकल कडाइका साथ लागू गर्न निर्देशन जारी गरेको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *