भारतको मद्रास उच्च अदालतले त्यहाँको निर्वाचन आयोग कोरोनाभाइरस महामारी फैलाउन जिम्मेवार भएको भन्दै चर्को आलोचना गरेको छ। सङ्क्रमण तीव्र गतिमा फैलिरहेको बेलामा पनि पाँचवटा राज्यमा ठूल्ठूला निर्वाचन र्यालीहरू हुन दिएको अनि तिनमा कोभिडसम्बन्धी स्वास्थ्य मापदण्ड पालना गराउन नसकेको कारण आलोचना गरेको हो।

ती राज्यहरू अहिले भाइरस सङ्क्रमणको दृष्टिकोणले ‘हटस्पट’ बनेको बताइएको छ। पछिल्ला दिनहरूमा पश्चिम बङ्गाल राज्य र उसको राजधानी कोलकातामा सङ्क्रमण निकै तीव्र गतिमा फैलिन थालेको विवरणहरू आएका छन्।
त्यस्ता र्यालीहरू भइरहेका बेलामा “आयोगका अधिकारीहरू कुन ग्रहमा थिए?” भनेर न्यायाधीशहरूले प्रश्न गरेका छन्।
तिनले किन हत्याका अभियोग खेप्नु नपर्ने भनेर पनि उनीहरूले सोधेका छन्।
चेन्नईस्थित अदालतले मापदण्डसम्बन्धी बन्देजहरू नलगाइए आइतवार हुने तमिलनाडु राज्य निर्वाचनको मतगणना रोकिदिने चेतावनी पनि दिएको छ।
अदालतको स्पष्ट आदेश हुँदाहुँदै पनि प्रचारप्रसारको बेला मास्क तथा स्यानिटाइजरको प्रयोग अनि भौतिक दूरीको नियम लागु गर्न नसकेको न्यायाधीशहरूले बताएका छन्। -बीबीसी

