एजेन्सी: म्यानमारको थाइल्याण्डसँग सीमा जोडिएको क्षेत्रमा धार्मिक अल्पसंख्यक करेन समुदायको समूहले सेनाको क्याम्पमा आक्रमण गरेको छ ।

आसियन राष्ट्रको सम्मेलनमा बोल्दै म्यानमारको सेना प्रमुखले अन्य मुलुकले दिएको सुझावलाई सकारात्मक रुपमा लिएको बताएको केही समयमा नै म्यानमारको सेनाको पोस्टमा आक्रमण भएको हो ।
शनिबार भएको आसियन सम्मेलनमा आसियन मुलुकका नेताले म्यानमारलाई हिंसा रोक्न आग्रह गरेका थिए । साथै निर्वाचित सरकारसँग वार्ता गरेर समस्या समाधानको लागि आग्रह गरेका थिए ।
म्यानमारको करेन नेशनल युनियनले आफ्ना लडाकुहरुले थाइल्याण्डको सीमानजिकै रहेको सेनाको क्याम्पलाई आफ्नो नियन्त्रणमा लिएको बताएको छ । मंगलबार बिहानै सो क्याम्पमा उक्त संगठनले छापामार आक्रमण गरेको थियो ।
यो समूहका विदेश मामिला प्रमुख स टाव निले अन्य केही स्थानमा पनि भिडन्त चलिरहेको बताए । यद्यपि उनले यसबारे विस्तृत जानकारी भने दिएका छैनन् ।
यो आक्रमणको विषयमा म्यानमारको सेनाले भने प्रतिक्रिया दिएको छैन । म्यानमारमा गत फेब्रुअरी १ मा सेनाले निर्वाचित सरकारलाई हटाउँदै कू गरेसँगै निरन्तर सेनाविरुद्ध आन्दोलन हुँदै आएको छ ।
