विश्व न्युज: पूर्वप्रधानमन्त्री एवं (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टीलाई बलियो बनाउने अभियानमा लागेको बताएका छन् । सोमबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता नेपालले उक्त कुरा बताएका हुन्।

” हामीलाई पार्टी फुटाउन खोजेको आरोप लगाइएको छ तर हामी पार्टीलाई बलियो बनाउने अभियानमा लागेका छौं ” नेता नेपालले भने।
पार्टी फुटाउन लागेको भन्ने आरोपको खण्डन गर्दै उनले थपे, “कहाँबाट पार्टी फुटाउनु । हामी त पार्टीका कार्यकर्ताहरूलाई लाखा-पाखा हुन नदिई एकताबद्ध बनाउँदै छौं । सही विचार सम्प्रेषण गर्दै छौं ।”
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने उनको भनाइ थियो । उनले भने, “उहाँले समस्याको कारण पहिचान गरेर गम्भीरतापूर्वक सोच्नुपर्छ भन्ने मेरो धारणा हो ।”
आफू र ओली बीचको एकता सम्भव रहेको बताउँदै उनले भने, “अध्यक्ष ओलीले फागुन २८ गतेको निर्णय फिर्ता लिएर विसं २०७५ जेठ २ गतेको अवस्थामा फर्कनुपर्छ, पार्टी विभाजन भएको छैन । लचिलो बन्नु पर्छ।”
कार्यकर्ताको भावना बुझ्न नसकेका कारण पार्टीभित्र सङ्घर्ष बढेको उनको भनाइ थियो । समस्या समाधानका लागि राजनीतिक रुपमा हल खोज्नुपर्ने उनले बताए । पार्टी भित्रको समस्या के हो ? कार्यकर्ताको भावना के हो भन्ने बुझ्न जरुरी रहेको उनको जिकिर थियो । कर्णाली प्रदेशका सांसदहरुलाई गरिएको कारवाही जायज नभएको नेता नेपालले दाबी गरे ।
