काठमाडौं : माधव कुमार नेपालसहित नेकपा एमालेका नेताहरुले आफूहरुमाथि कारबाही रोक्न माग गर्दै दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सोमबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले अहिले नै कारबाही भइसकेको अवस्था नदेखिएको भन्दै कारबाही रोक्न भनी माग गरेको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

वैशाख ६ गते एमाले अध्यक्ष एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहित २७ सांसदलाई सांसद पदबाट किन नहटाउने भनी स्पष्टीकरण माग गरेका थिए ।

त्यसविरुद्ध नेता माधवकुमार नेपालसहित ४ जना नेताले आफूहरुमाथिको कारबाही हाल यथास्थितिमा राख्न र थप कारवाही नगर्न नगराउन अन्तरिम आदेश माग गरेका थिए ।

निर्वाचन आयोग , एमाले अध्यक्ष केपी शर्मा ओली लगायतलाई विपक्षी बनाइएको रिटमा सर्वोच्चले विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।

त्यस्तै यो विवादको विषयवस्तुको प्रकृति चाँडै निरुपण हुनुपर्ने देखिएकाले अग्राधिकार दिन पनि आदेश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *