काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जनताले ठूलो मौका दिएको कम्युनिष्ट सरकारबाट सामान्य किसान र गरिब परिवारले राहत महसुस गर्न नसकेको बताएका छन् । एमालेका दिवंगत नेता मनमोहन अधिकारीको २२ औं स्मृति दिवसको पूर्वसन्ध्यामा एक वक्तव्य जारी गर्दै वरिष्ठ नेता नेपालले वर्तमान कम्युनिष्ट सरकारबाट किसान र गरिव जनताले राहत महसुस गर्न नसकेको अवस्थामा स्वर्गीय अधिकारीको अभाव झनै खड्किएको बताएका छन् ।

स्वर्गीय अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेता नेपालले भनेका छन्, ‘अहिले नेपाली जनताले ठूलो मौका दिएको कम्युनिष्ट सरकारबाट विकृति-विसंगतिहरुलाई प्रश्रय दिने काम नभएको र सामान्य किसान र गरिब परिवारले राहतको महसुस गर्न नसकेको अवस्थामा स्वर्गीय अधिकारीको अभाव खड्किरहेको छ ।’
नेता नेपालल कम्युनिष्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताका पक्षमा लाग्न सम्पूर्ण नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई आह्वान समेत गरेका छन् ।
नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । उनले २०५१ सालमा ९ महिने सरकारको नेतृत्व गरेका थिए ।
