काठमाण्डौ :सरकारले तत्काल नै देशव्यापी लकडाउन नगर्ने बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको आयोजनक कमिटी सदस्यको बैठकपछि प्रतिक्रिया दिँदै परराष्ट्र मन्त्री एवम् सरकार प्रवक्ता प्रदीप ज्ञवालीले अहिले नै लकडाउन नगर्ने बताउनुभएको हो ।

मन्त्री ज्ञवालीले कोरोनाको सङ्क्रमण बढेका ठाउँमा लकडाउन हुने तर देशव्यापी लकडाउन गर्ने पक्षमा सरकार नभएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘तत्काल देशव्यापी लकडाउन चाहिँ हामी गर्दैनौँ, सबै नागरिकहरुलाई स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न हाम्रो आग्रह छ । लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक हुन्छ तर त्यो अन्तिम समाधान होइन ।’
भर्खर मात्र अर्थतन्त्र तङ्ग्रिन थालेको अवस्थामा नागरिकको जीविकामा प्रतिकूल असर नपुगोस् भन्ने सरकारको चाहना रहेको उहाँले बताउनुभयो । ‘हटस्पट ठाउँहरुमा लकडाउन हुन सक्छ तर त्यो स्थानीयस्तरमा मात्रै देशव्यापी लकडाउन चाहिँ सरकारले गर्दैन ।’
