चितवन,: गत चैत २४ गते भत्किएको भरतपुर महागनरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशुली नदी माथि निर्माणाधीन ‘पिस्ट्रेस्ड कङ्क्रिट ब्रिज’ पुलको बाँकी भाग सोमबार बिहान ९ बजेको समयमा खसेको छ ।
आरसीसी कंक्रिट स्पान भत्किएको उक्त पुलको नदीको बहाव क्षेत्र माथि स्टील संरचनामा निर्माण गरिएको थियो । पुलको कंक्रिट संरचना भत्कदा चर्केको अवस्थामा रहेको उक्त संरचनामा केही दिन यता निर्माणको काम भइरहेको बताइन्छ ।
चितवनका प्रहरी प्रमुख ओम अधिकारीका अनुसार १४ जनाले काम गरि रहेको अवस्थामा स्टील संरचना खस्दा दुई जना वेपत्ता भएका छन् । तीमध्ये १० जना नदीमा खसेका र आठ जनाको तत्काल उद्धार गरिएको र दुई जना वेपत्ता छन् । १४ जना मध्ये चार जनाको भने नदी माथिनै उद्धार गरिएको छ । उद्धार र खोजी कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।
स्थानीय बासिन्दाले उक्त स्थानमा बिहान देखिनै काम भइरहेको बताएका छन् । अहिले स्थानीय बासिन्दा र प्रहरी उद्धार कार्यमा जुटिरहेको बताइएको छ ।
इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी संग शुरुआतमा १६ करोडको लागतमा निर्माण सम्झौता भएको उक्त पुल पछि नक्साङ्कन संशोधन (डिजाइन रिभ्यू) पछि लागत बढेर २१ करोड ६८ लाख रुपिंयाँ पुगेको थियो । तीन बटा कंक्रिट स्पान र ८० मिटर स्टील ट्रस्ट संरचना रहने उक्त पुल दुई सय २० मिटर लामो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *