बग्दाद : इराकको राजधानी बग्दादस्थित इबन अल–खातिभ अस्पतालको कोरोनाभाइरस सघन उपचार कक्षमा आइतबार भएको आगलागीमा परेर कम्तीमा ८२ जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार अक्सिजन सिलिन्डर विस्फोटबाट आगलागी शुरु भएको थियो । उक्त अस्पतालमा अग्नि नियन्त्रणको व्यवस्था नभएका कारण अस्पतालभित्रका प्रज्ज्वलनशील अरु सामानहरूमा आगो तत्कालै सल्किएको थियो ।

मध्यरातमा आगलागी भएलगत्तै अग्निनियन्त्रकहरु अस्पताल पुगेका थिए । अस्पतालमा कार्यरत कर्मचारी र बिरामी एवं आफन्तहरु भागाभाग गरेका दृश्यहरु सामाजिक सञ्जालमा पोष्ट गरिएका थिए ।
अस्पतालको प्रशासनका अनुसार अधिकांश बिरामीलाई अन्यत्र सार्नु परेको र भेन्टिलेटर हटाउँदा बिरामीको ज्यान गएको हो । कतिपयको धुवाँले निस्सासिएर मृत्यु भएको थियो । अस्पतालबाट १२० जना बिरामी र उनीहरुका आफन्तमध्ये ९० जनालाई सुरक्षित रुपमा बाहिर निकालिएको छ । तर कम्तीमा ५० जनालाई आगोले पोलेको छ ।
इराकमा बुधबार कोभिड–१९ का बिरामीको संख्या १० लाख नाघेको छ । यो अरब मुलुकमै सबैभन्दा बढी हो । इराकी स्वास्थ्य मन्त्रालयले गत फेब्रुअरी २०२० मा पहिलो संक्रमण देखिएता हालसम्म १५ हजार २१७ जनाको मृत्यु भएको जनाएको छ । करिब चार करोड जनसंख्या रहेको इराकमा हाल दैनिक ४० हजारको स्वास्थ्य परीक्षण गरिरहेको पनि मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार इराकका कम्तीमा दुई लाख ७५ हजार व्यक्तिले पहिलो डोज खोप लगाएका छन् ।
