काठमाडौं । इराकको राजधानी बगदादस्थित कोभिड अस्पतालमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ ।

इब्न खतिब अस्पतालको आईसीयूमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । आगलागीमा परी थप ४६ जना घाइते भएका छन् ।
यसका साथै इब्न अस्पतालमा एक दुर्घटनाको कारण आगलागी फैलिएको र अक्सिजन सिलिण्डर पनि विष्फोट भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले बताएको छ । अस्पतालमा अग्नी नियन्त्रणको कुनै प्रणाली नभएकाले आगो क्षणभरमै फैलिएको अधिकारीहरुले बताएका छन् ।
इराकको नागरिक सुरक्षा एकाइका प्रमुख मेजर जनरल काढिम बोहनमले अस्पतालमा रहेका १२० मध्ये ९० बिरामीको उद्धार गरिएको बताए । घाइतेमध्ये केहीको अवस्था गम्भीर देखिएकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।
इराकका प्रधानमन्त्री मुस्ताफा अल–काढेमीले यो घटनाको विषयमा तत्काल अनुसन्धान गर्न निर्देशन दिएका छन् । उनले तीन दिन राष्ट्रिय शोकको घोषणासमेत गरेका छन् ।
एजेन्सीहरुको सहयोगमा
