काठमाडौं : त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधिका लागि नेपाल आज नेदरल्याण्डसँग भिड्दैछ। भिडन्त कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १ बजे हुँदैछ।
लिग चरणका खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध एउटा जित र एउटा हारको नतिजा निकालेकाले आजको खेल पनि चुनौतीपूर्ण नै मानिएको छ। तर‚ समग्रका पछिल्ला चार खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध तीनवटा खेलमा जित निकालेको छ भने एउटामा हार व्यहोरेको छ।

त्रिदेशीय सिरिजमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो भने मलेसिया अन्तिम स्थानमा रहेर बाहिरिएको थियो। नेपालले घरेलु मैदानमा आयोजित त्रिदेशीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ।
टी–२० प्रतियोगितामा २०० रनभन्दा माथिको स्कोर खडा गर्दै नेपालले आफूलाई अब्बलका रूपमा पेस गरिरहेको छ। करण केसी, सन्दीप लामिछाने तथा कुशल भुर्तेललगायतका खेलाडीको प्रदर्शन राम्रो रहेकाले उपाधि रक्षा हुने कुरामा प्रशिक्षक डेव ह्वाटमेर आशावादी रहेका छन्।
