काठमाडौँ– नेकपा एमालेले कर्णाली प्रदेशका चारजना सांसदको सांसद पद खारेज हुने गरी कारबाही गर्ने निर्णय गरेको छ।

एमालेका तर्फबाट कर्णाली प्रदेशसभा सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो।
उनीहरुले ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएका थिए। उनीहरु चारैजना नेपाल–खनाल समूहका हुन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाही गरिएका कर्णालीका चार सांसदसहित देवी ओलीलाई पनि स्पष्टीकरण सोधेका थिए। देवी ओलीले आफूले पार्टीको ह्वीप उल्लंघन नगरेको र झुक्किएर गलत लाइनमा लागेको जवाफ दिएकी थिइन्।
उनलाई थप स्पष्टीकरण सोध्ने निर्णय भएको छ।
