काठमाडौं : एमाले नेता वामदेव गौतमले दशौं महाधिवेशन आयोजक कमिटीको बैठकको नाममा बनाइएको स्थायी कमिटी गठनको कुनै अर्थ नहुने बताएका छन्।

आफू निकटहरूसँग पार्टी अध्यक्ष केपी ओलीले गठन गरेको स्थायी कमिटीमा आफूलाई राख्नुको कुनै अर्थ नरहेको समेत गौतमले बताएका छन्।
‘मेरो व्यक्तिगत रूपमा केपी ओलीसँग विशेष सम्बन्ध छ। तर उहाँले गरेको सांगठनिक निर्णयमा मेरो असहमति छ,’गौतमको भनाइ उदृत गर्दै उनका प्रेस सहयोगी विश्वमणि सुवेदीले भने,’म महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हुँ। मेरो उपाध्यक्ष पद खोस्ने अधिकार कसैसँग छैन।’
शुक्रबार बसेको एमाले महाधिवेशन आयोजक कमिटी बैठकले १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ। गौतमलाई नयाँ स्थायी कमिटीमा मर्यादाक्रमको दोस्रो स्थानमा राखिएको छ। खनाल-नेपाल पक्षले बहिष्कार गरेको बैठकमा ओलीले आफू निकटका नेतामात्रै राखी स्थायी कमिटी गठन गरेका छन्।
स्थायी कमिटी गठनको निर्णयलाई वरिष्ठ नेता झलनाथ खनालले भारदारी सभाले भारदारहरू नियुक्त गर्नु नौलो नभएको प्रतिक्रिया दिएका छन्।
