काठमाडौँ , नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना संक्रमण नियन्त्रणमा सरकार उदासिन भएको बताएका छन्।

बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै नेता सिंहले कोरोना संक्रमणले देशमा भयावह स्थिती आउन नदिन सरकारले तत्काल प्रभावकारी कदम चाल्नु पर्ने बताएका हुन्। सरकार कोरोना नियन्त्रणमा लाग्नु पर्ने बेला अनावश्यकरुपमा शिलान्यास कार्यक्रम गरि जनतामा भ्रम सिर्जना गरेको उनको आरोप थियो। उनले कोरोनाका कारणले कोही नेपालीले दुःख भोग्नु पर्ने अवस्था आउन नदिन सरकारलाई आग्रहसमेत गरेका छन् ।
सरकार नेपाली नागरिकको स्वास्थ्यको सुरक्षा गर्न भन्दा पनि आफ्नो सत्ता जोगाउन लागि परेको नेता सिंहको भनाइ छ। देशमा भएका अस्पतालहरुको क्षमता बढाउँदै लाग्नु पर्ने भन्दै उनले भने, ‘दोस्रो चरणको कोरोना भाइरस नेपालमा भित्रिसकेको छ। रोकथामका लागि तत्काल सरकारले प्रभावकारी कदम चालोस्।’ राजधानीका ठूला अस्पतालहरुमा भएका अक्सिजन प्लान्टसमेत संचालन हुन नसकेको समाचार सुन्दा अचम्म लागेको भन्दै तत्कालै जनस्वास्थ्यका विषयमा ठोस कदम चाल्न समेत सरकारलाई आग्रह गरेका छन्।
अब पनि कोरोना नियन्त्रण र रोकथामका विषयमा प्रभावकारी कदम चाल्न नसके भयावह स्थिती आउन सक्ने भन्दै गम्भिरतालाई बुझेर अघि बढ्न सम्बन्धित सबैमा विशेष अपिल गरेका छन् ।
कार्यक्रममा नेता सिंहमार्फत इसान प्रसाई स्मृति समाजले अटिजम भएका बालबालिकालाई नगद एक लाख एघार हजार रुपैयाँ सहयोग गरेको थियो।

