ललितपुर : संस्कृतिविद् सत्यमोहन जोशीले साहित्यकार तथा पत्रकार तुलसीहरि कोइरालाको पहिलो कथाकृति ‘न्यूरोडका झाँकी’ सार्वजनिक गरे ।

बुधबार जोशीको लोकसाहित्य भवनमा आयोजित कार्यक्रममा बोल्दै संस्कृतिविद् सत्यमोहन जोशीले ९० वर्ष अघि आफूले स्कूल पढ्दा अंग्रेजी कथाहरू पढ्न पाएको सम्झना गरे । उनले शारदाकालीन लेखनको चर्चा गर्दै भने, “त्यसबखत नेपाली कथामा अलिकति पनि प्रगतिवादी कुरा आए छुल्याहाहरूले चुगली लगाउँथे र लेखकले दुःख पाउँथे ।” मन्तव्यका क्रममा उनले नेपाली कथासाहित्य विश्वबजारमा पुग्नुपर्ने बताए ।कार्यक्रममा समालोचक डा. कुमार कोइरालाले विमोचित कृतिका विषयमा आफ्ना धारणा राखेको थिए । शिखा बुक्स र लघुकथा समाजद्वारा आयोजित श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न कार्यक्रममा लेखक तुलसीहरि कोइराला र मणि लोहनीले पनि बोलेका थिए ।
