काठमाडौं : आज रामनवमी पर्व देशभर पूजाआजा गरी मनाइँदै छ ।

चैत्र शुक्ल पक्षको नवमी तिथीमा पर्ने रामनवमी पर्व आज श्रद्धापूर्वक पूजाआजा गरी मनाइँदै छ । हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यस दिनलाई भगवान् श्री राम चन्द्रको जन्म दिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको बीचमा आउने भएकाले आज भगवान् श्री रामका साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा हुन्छ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरिएको सम्झनामा यो पर्व मनाइने गरेको हो ।
हिन्दू धर्मावलम्बीहरू रामनवमीका दिन बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन् । आजको दिन जनकपुरको रामजानकी मन्दिरमा भव्य पूजाआजा हुन्छ । रामजानकी मन्दिरमा नेपाल तथा भारतबाट ठुलो सङ्ख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्दछन् ।

