काठमाडौँ:प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पूजा गरी पठाएका मूर्तिसहितको शोभायात्रा माडीका लागि प्रस्थान गरेको छ ।

मङ्गलबार साँझ देवघाट आइपुगेको सो शोभायात्रा आज बिहान ८:३० बजे माडीका लागि प्रस्थान गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर आत्मानन्द गिरीजी महाराज, देवघाट क्षेत्र विकास समितिका पदाधिकारीसहितको उपस्थितिमा स्वस्ति वाचनसहित शोभायात्रालाई बिदाइ गरिएको हो ।

आज बिहान देवघाट सङ्गमस्थलको पवित्र जलले जलाभिषेकसँगै राम, सीता, हनुमान र लक्ष्मणको मूर्तिलाई देवघाटबाट बिदाइ गरिएको हो । स्थानीयवासीले कलशयात्रासहित शोभायात्रालाई बिदाइ गरेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिए ।

माडीको अयोध्याधाममा निर्मित मन्दिरमा राख्नका लागि शोभायात्रासहित प्रधानमन्त्री कार्यालयबाट राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिहरु मङ्गलबार ल्याइएको हो । यसरी ल्याइएका मूर्तिहरु अयोध्यापुरीको रामधाममा निर्मित मन्दिरमा आज दिनको १२ बजे राख्ने कार्यक्रम छ । सो कार्यक्रममा मन्त्री ढकाल, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायतका उच्च अधिकारीको सहभागिता रहने आयोजकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *