काठमाडौँ / नेकपा(एमाले) सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले माधवकुमार नेपाललगायतलाई पार्टीबाट निकाल्नुपर्ने बताएका छन् । मङ्गलबार काठमाडौँमा आयोजित नेपाल खेलकुद माहासङ्घ राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

नेपाललाई पार्टीमा राखुन्जेल भ्रम सिर्जना हुने र मान्छेलाई एकत्रित गरेर अन्तै लैजाने षडयन्त्र गरेकाले पार्टीबाटै निस्कासन गर्नुपर्ने उनले बताए ।
नेपाललाई अब ६ महिनाको निलम्बनले नपुग्ने बताउँदै उनले भने, ‘माधव नेपाललाई अब ६ महिनाको निलम्बनले पुग्दैन । उहाँहरूलाई पार्टीबाट निस्कासन गर्नुपर्छ । काम छैन, यहाँभित्र जति राखिन्छ भ्रम सिर्जना हुन्छ । भ्रमबाटै मान्छेलाई एकत्रित गरेर अन्तै लैजाने उहाँको षड्यन्त्र छ । यो भयङ्कर र जटिल प्रकारको षडयन्त्र उहाँहरूले गर्दै हुनुहुन्छ ।’
नेपाल पक्षले प्रचण्डको महत्वकांक्षालाई मलजल गरेर कम्युनिस्ट आन्दोलनलाई समाप्त गर्ने कसम खाएर लागेको आरोपसमेत थापाले लगाए ।
