नयाँ दिल्ली :  कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि मंगलबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै देशलाई लकडाउनबाट बचाउनुपर्नेमा जोड दिएका छन् । उनले लकडाउनलाई अन्तिम विकल्पका रुपमा मात्र प्रयोग गर्न राज्यहरूलाई आग्रह गरे । सम्बोधनका क्रममा उनले भने, ‘आजको स्थितिमा हामीले देशलाई लकडाउनबाट बचाउनु छ, म सबै राज्यलाई अनुरोध गर्दछु कि लकडाउनलाई अन्तिम विकल्पका रुपमा मात्र प्रयोग गरियोस् ।’                                                                                                    उनले श्रमिकहरुलाई भरोसा दिलाइराख्न र जहाँ छन्, त्यहीँ राख्ने भूमिका निर्वाह गर्न राज्य प्रशासनसमक्ष आग्रह गरे । उनले भने, ‘राज्यहरुले दिने यस्तो भरोसाले श्रमिकहरुलाई ठुलो मद्दत पुग्नेछ, उनीहरु जहाँ छन्, त्यहीँ आगामी केही दिनमा खोप पुग्नेछ र उनीहरुको रोजगारी पनि बन्द हुनेछैन ।’                                                                                                                       त्यस्तै युवा वर्गलाई पनि उनले आफ्नो गाउँ–टोलमा स–सानो कमिटी बनाएर कोभिड अनुशासन पालन गराउन आग्रह गरे । युवाहरुले यस्तो भूमिका निर्वाह गरेको खण्डमा सरकारले लकडाउन लगाउन नपर्ने उनको भनाइ थियो ।

उनले बालबालिकालाई अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कन आग्रह गरे । बालबालिकालाई सम्बोधन गर्दै उनले भने, ‘तपाईहरुले घरमा यस्तो वातावरण बनाइदिनुस् कि विना काम, विना कारण घरका कोही पनि बाहिर निस्कन नपरोस्, तपाईंहरुको हठले ठुलो परिणाम ल्याउन सक्छ ।’

जीवन बचाउनका अतिरिक्त आर्थिक गतिविधि, जनजीवन कमभन्दा कम प्रभावित होस् भन्नेमा पनि साझा प्रयास हुनुपर्ने उनको भनाइ छ । देशमा अक्सिजनको अभाव भएकोतर्फ लक्षित गर्दै उनले यो अभाव पूर्ति गर्नका लागि समवेदनशील भएर काम गरिरहेको बताए।   –बीबीसी

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *