काठमाडौँ– काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेका छन्।

मंगलबार काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका पदाधिकारीहरु समेतको उपस्थितिमा बसेको बैठकले कोरोना नियन्त्रणका लागि सरकारले वैशाख ६ गते गरेका निर्णय र आदेशको प्रभावकारी कार्यान्वयन गराउन जोड दिने निर्णय गरको काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

कोरोना संक्रमणबाट बच्न व्यापक रुपमा प्रचार प्रसार गर्ने, सरोकारवालाहरु सहितको संलग्नतामा अनुगमन गर्ने निर्णय भएको पनि उनले जानकारी दिए। उनीहरुले कोरोना रोकथाम गर्न १३ बुँदे सूचना जारी गरेका छन्।

सरकारले २०७८ वैशाख मसान्तसम्म शैक्षिक संस्थाहरु भौतिक उपस्थिति नगराइकन भर्चुअल माध्यमबाट सञ्चालन गर्ने, रात्रिकालीन व्यवसाय बन्द गर्ने, भेला, जुलुस तथा आमसभा नगर्ने र विवाह व्रतवन्ध जस्ता सामाजिक काममा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ।

प्रशासन कार्यालयहरुले भीडभाड नगर्न, अनिवार्य मास्कको प्रयोग गर्न, २५ जना बढी भेला नहुन, सवारीसाधनमा सिट क्षमताभन्दा बढी नराख्न, यात्रुबाहक सवारीसाधनमा चालक र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउन अनुरोध गरेका छन्। तोकेको स्वास्थ्य मापदण्डको पालना नगरे संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी समेत प्रशासन कार्यालयहरुले दिएका छन्।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *