काठमाडौं : विद्रोहीसँगकाे भिडन्तमा घाइते हुनुभएका अफ्रिकी देश चाडका राष्ट्रपति इद्रिस डेबीको ज्यान गएको छ । भिडन्तकै क्रममा रहेको सेनालाई हौसला दिन सोमबार लिवियासँगको उत्तरी सीमा क्षेत्रमा पुगेका राष्ट्रपती डेबी विद्रोहीको गोली लागेर घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा मङ्गलबार ज्यान गएको बीबीसीले जनाएको छ ।

सेनाका प्रवक्ता आजम बर्मान्डोआले देशका सर्वोच्च कमान्डर डेबीले देशको सार्वभौमसत्ता रक्षाको सिलसिलामा अमरत्व प्राप्त गरेको जानकारी दिएको खबरमा उल्लेख छ । डेबीका छोरा जनरल महमत काकालाई १८ महिनाको लागि अन्तरिम राष्ट्र प्रमुख घोषणा गरिएको छ ।
राष्ट्रपति डेबी यसै महिनाको सुरुमा ८० प्रतिशत मतसहित छैटौँ कार्यकालको लागि निर्वाचित हुनुभएको थियो । चुनावको एक दिनपछि नै विद्रोहीले चाडको सीमा क्षेत्रमा ठूलाे आक्रमण गरेको थियो ।
उक्त भिडन्तमा तीन सय जना विद्रोही मारिएको र एक सय ५० जना पक्राउ परेका सेनाका प्रवक्ताले जनाएको खबरमा उल्लेख छ ।
