मंगलग्रहमा पहिलो पटक हेलिकप्टरकाे सफल उडान भएकाे छ। अमेरिकी अन्तरिक्ष संस्था (नासा) ले मंगल ग्रहमा पठाएको इन्ज्युनिटी हेलिकप्टरको पहिलो टेस्ट फ्लाइट सफल भएको बिबिसीले उल्लेख गरेकाे छ। इन्ज्युनिटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा अडिएको थियो। नासाले त्यसलाई एउटा विमानमार्फत् अर्कै विश्वबाट पहिलो पटक नियन्त्रित र सञ्चालित उडान गरेको हाे। सोमबार नेपाली समय अनुसार अपराह्न ४ बजे इन्ज्युनिटीले मंगल ग्रहमा ३० सेकेन्डको उडान गरेको थियो ।एक केजी ८ सय ग्रामको यो हेलिकप्टर तयार गर्नका लागि नासाले ८५ मिलियन अमेरिकी डलर खर्च गरेको छ ।

प्राचीन इतिहास अध्ययन गर्नका लागि पर्सिभरेन्स रोभरसँगै यो हेलिकप्टरलाई सन् २०२० को जुलाई ३० तारिखका दिन त्यसतर्फ पठाइएको थियो । पर्सिभरेन्स रोभरसँगै यो हेलिकप्टर मंगल ग्रहको जेजिरो क्रेटरमा १८ फेब्रुअरीको २०२१मा अवतरण भएको थियो ।
मंगल ग्रहमा पर्सिभरेन्स रोभर अवतरण भएपछि यो हेलिकप्टरले रोभरबाट केही साताअघि सफ्ट ल्यान्डिङ गरेर मंगल ग्रहको सतहलाई छोएको थियो । अघिल्लो साता नै यसको टेस्ट फ्लाइट गर्ने भनिए पनि प्राविधिक कारणले केही ढिलाइ भएको थियो ।
मंगल ग्रहमा यो हेलिकप्टरको मिसन ३० दिनको छ । नासाले यसअघि जारी गरेको विज्ञप्ति अनुसार यसले ५ वटा पावर फ्लाइट गर्ने जनाएको थियो । प्रत्येक फ्लाइट ३ मिनेट अवधिको हुनेछ । भविष्यको मंगल ग्रहको अध्ययनका लागि र अन्य रोबोटिक उडान हुने वस्तु निर्माण गर्नका लागि इन्ज्युनिटी मिसनले सहयोग गर्ने नासाले जनाएको छ ।
सौर्य ऊर्जाबाट अटोमेटिक रुपमा चार्ज हुने यो यानले रोभर र फ्लाइट ओपरेटरहरसँग सञ्चार गरेर पृथ्वीमा तथ्यांक पठाउने नासाले बताएको छ ।
मंगल ग्रहमा इन्ज्युनिटीले न्यूनतम १५ फिट र अधिकतम् १६० फिटको उचाइसम्म उड्न सक्नेछ ।
