राजधानीमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपाललाई नेदरल्याण्ड्सले हराएको छ। नेपालले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ३ बल बाँकी हुँदै ७ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाललाई नेदरल्यान्ड्सले ३ विकेटले हराएको हो। यो नेदरल्यान्ड्सले आफ्नो टी-२० आई इतिहासकै सर्वाधिक विशाल लक्ष्य पूरा गरेको हो  ।

उसका लागि बासडी लिडेले अविजित ८१, बेन कपूरले ५५, कप्तान पीटर सीलारले ३१, टोबिएस भिसेले १५ रन बनाए । बलिङमा सन्दीप लामिछानेले चार, कुशल मल्ल, अविनाश बोहरा र करण केसीले एक/एक विकेट लिए ।

यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले अर्धशतकीय पारी खेले।

कुशलले ४६ बलमा आठ चौका र एक छक्कासहित ६२ रन बनाए। जारी सिरिजमा उनको यो लगातार तेस्रो अर्धतकीय पारी हो । योसँगै कुशलले डेब्यू टी-२० सिरिजमै लगातार तीन अर्धशतक बनाउने विश्वकीर्तिमान पनि बनाएका छन्।

त्यस्तै, उपकप्तान ऐरीले ३० बलमा पाँच छक्का र तीन चौकासहित ६० रनको योगदान दिए। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो पहिलो अर्धशतक हो ।

कुशल मल्लले पनि आक्रामक ब्याटिङ गरे । उनले सात बलमा तीन छक्काको मद्दतमा १८, कप्तान ज्ञानेन्द्र मल्लले २०, विनोद भण्डारीले सात र सोमपाल कामीले अविजित २१ रन बनाएका थिए।

बलिङमा नेदरल्याण्डका भिभियन किंग्मा, कप्तान पीटार सीलारले दुई/दुई, बासडी लिडे र आर्यन दत्तले एक/एक विकेट लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *