सामाजिक सुरक्षा कोषका योगदानकर्ताले अब बिरामी भएमा उपचार गर्दा लाग्ने खर्च अस्पतालबाटै छूट पाउने भएका छन् । सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन आगामी साउनदेखि योगदानकर्ता बिरामी भएको खण्डमा उपचार खर्च अस्पतालबाटै छूट दिनेगरी सामाजिक सुरक्षा कोषले तयारी अघि बढाएको हो।

कोषका अनुसार हाल उपचारपछि बिल पेश गरेर मात्रै योगदानकर्तालाई कोषबाट दाबी भुक्तानी दिइन्छ । यो व्यवस्था झन्झटिलो भएको गुनासो आएपछि ८० प्रतिशतसम्म छूट सीधै अस्पतालबाटै दिनेगरी तयारी अघि बढाइएको छ । यो सेवा शुरू भएपछि योगदानकर्ताले उपचारबापत १ लाख बराबरको सेवा अस्पतालबाट लिँदा २० प्रतिशत मात्रै तिरे पुग्नेछ ।

‘अब उपचार गराउँदा लागेको खर्च कोषमा दावी गर्न आइराख्नु पर्दैन, योगदानकर्तालाई सीधै अस्पतालबाट छूट दिनेगरी हामी लागिरहेका छौं,’ कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले अभियानलाई बताए ।

उनका अनुसार अस्पतालबाट सीधै छूट दिनका लागि अहिले धमाधम सम्झौता भइरहेको छ । काठमाडौं उपत्यकाका सहित प्रदेशमा रहेका करीब १ सय ५ अस्पतालसँग छूट दिनेसम्बन्धमा अहिलेसम्म सम्झौता सम्पन्न भइसकेको छ ।

आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *