काठमाडौँ : भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भमेलामा सहभागी भएर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकले स्वागत गरेका छन् । पूर्वराजा शाह आइतबार दिउँसो स्वदेश फर्किएका हुन् ।

उनको स्वागतमा समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । राप्रपा नेपालको नाममा ‘हिन्दू सम्राट श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारलाई नेपालमा हार्दिक–हार्दिक स्वागत गर्दछौँ’ लेखिएको ब्यानरलगायत अन्य विभिन्न समूहको छुट्टाछुट्टै ब्यानरसहित स्वागत गर्नका लागि समर्थकहरू विमानस्थल पुगेका थिए ।
विमानस्थलबाट बाहिरिएलगत्तै पूर्वराजा शाहलाई पञ्चकन्याले सयपत्री फूलको मालाले स्वागत गरेका थिए । हातमा नेपालको झण्डा बोकेर उपस्थित भएका समर्थकहरूले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा, हाम्रो देश’ लगायत नारासमेत लगाएका थिए ।
