विराटनगरमा जारी छैटौं सङ्स्करणको विराट गोल्ड कप प्रतियोगितामा आज उपाधि भिडन्त हुँदै छ । साँझ ६ बजे हुने उपाधि भिडन्तमा भारतको पञ्जाव पुलिस क्बल र विभागीय टोली एपिएफ काठमाडौंँ भिड्दै छन् ।

बिहीबार दोस्रो सेमिफाइनल खेलमा आहा रारा गोल्डकपको च्याम्पियन सङ्कटा क्लबलाई हराउँदै पञ्जाव पुलिसले एपिएफसँगको भेट पक्का गरेको हो । त्यसअघि पञ्जाव पुलिसले घरेलु टोली विराटनगर–११ लाई निराश बनाउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

अब विराटनगरको सहिद रङ्गशालामा हुने प्रतियोगिताको अन्तिम स्पर्धामा नेपाली र विदेशी विभागीय टिम आमनेसामने हुन लागेका हुन् । दुवै टिम नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छन् ।

एपीएफले उपाधिनजिक पुग्ने क्रममा अर्को विभागीय टिम नेपाल पुलिस क्लब र घरेलु टिम विराटनगर महानगरपालिका–११ लाई हराएको थियो । पञ्जाव भने गोर्खा ब्वाइज रुपन्देही, मच्छिन्द्र क्लब काठमाडौं र आहा–रारा गोल्डकप विजेता संकटालाई पराजित गर्दै फाइनल पुगेको हो ।

विराट गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको पञ्जावले यसअघिका तीनवटा खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

प्रतियोगिताको विजेता टिमले ट्रफीसहित नगद १५ लाख १५ हजार रुपैयाँ पाउने छ । उपविजेताले सात लाख ५१ हजार रुपैयाँमा चित्त बुझाउनु पर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइने छ । उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिडफिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापकसमेतलाई जनही २५–२५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *