काठमाडौं : ललितपुर महानगरपालिका–१६ स्थित नारायण मन्दिरमा रहेको मूर्ति हराएको ३७ वर्षपछि फेला परेको छ। संयुक्त राज्य अमेरिकामा फेला परेको मूर्ति बिहीबार पुरातत्व विभागले ललितपुर महानगरपालिकालाई हस्तान्तरणसमेत गरेको छ। पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई मूर्ति हस्तान्तरण गरेका हुन्।

मूर्तिलाई हालका लागि पाटन संग्रहालयमा सुरक्षितरूपमा राखिने भएको छ। मन्दिरमा आवश्यक सुरक्षाको प्रबन्धपछि मन्दिरमा प्रतिस्थापन हुने बताइएको छ। महानगरपालिकाको मोमुडु गल्लीस्थित नारायण मन्दिरमा वासुदेव कमलाज (लक्ष्मीनारायण) को मूर्ति रहेको थियो। जम्मा ७० किलोग्राम तौल रहेको मूर्ति सन् १९८४ मा हराएको विभागले जनाएको छ। मध्यकालीन नेपाली मूर्तिकलाको नमूनाका रूपमा रहेको र प्रस्तरबाट बनेको मूर्ति १५औँ शताब्दीको मानिन्छ।
सन् २०२० मा सो मूर्ति अमेरिकाको टेक्ससस्थित डल्लास संग्रहालयमा रहेको जानकारी प्राप्त भएको थियो। त्यसपछि नै मूर्तिबारे छलफल भएर फिर्ता ल्याउन प्रक्रिया सुरु भएको थियो। विभागले मूर्तिबारे आवश्यक जानकारी संकलन गरेर संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालय पठाएको थियो। प्रमाणका आधारमा अमेरिकास्थित नेपाली दूतावासको अग्रसरतामा सम्झौता भई मूर्ति फर्काउन पहल भएको विभागले जनाएको छ।
२०७७ चैत ३१ मा मूर्ति नेपाल फर्काइएकामा बिहीबार नै विभागले जिम्मेवारी लिएको थियो। युनेस्कोको सन् १९७० को गैरकानूनीरूपमा सांस्कृतिक वस्तुको चोरी निकासी र ओसारपसारलाई रोक लगाउनेसम्बन्धी महासन्धिको नेपाल पक्षराष्ट्र भएसँगै यस्ता सम्पदा क्रमशः फर्किएको विभागले जनाएको छ। हालसम्म बेलायतबाट १९ थान, अष्ट्रेलियाबाट एक, अमेरिकाबाट १०, तिब्बतबाट २८ र जर्मनीबाट एक थान मूर्ति फिर्ता भइसकेको छ।-रासस

