वीरगञ्ज– वीरगञ्जबाट १ हजार ४ सय ८८ एम्पुल लागुऔषधसहित एकजना भारतीय युवक र गाँजासहित एक १४ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले वीरगञ्ज १६ रजत जयन्ती चोकबाट लागुऔषधसहित भारतको बिहार मोतीहारी जिल्लाको रक्सौलका २५ वर्षका भोला दासलाई पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले ती युवकको शरीर चेकजाँच गर्दा उनको साथबाट झोलाभित्र लुकाइछिपाई ल्याएको लागुऔषध डाईजेपाम ४ सय ९६ एम्पुल, फेनारगन ४ सय ९६ एम्पुल र नुर्फिन ४ सय ९६ एम्पुल गरी १ हजार ४ सय ८८ एम्पुल लागुऔषध बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।
यस्तै वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेटस्थित प्रहरी टोलीले १४ वर्षीय बालकलाई प्रतिबन्धित गाँजासहित पक्राउ गरेको छ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ घर भएका ती बालकको साथबाट उनको शरीरमा प्लाष्टिकको पेटी बेरेर लुकाइछिपाइ ल्याइएको २ किलो गाँजा प्रहरीले बरामद गरेको हो।
लागुऔषधसहित पक्राउ परेका भारतीय युवक र बालकलाई लागुऔषध कसुरमा थप अनुसन्धान भइरहेको प्रवक्ता खनालले बताए।
