कम्प्युटर एशोशिएसन नेपाल (क्यान) महासंघले वैशाखमा गर्ने क्यान इन्फोटेक २०२१ को तयारी थालेको छ। क्यानले यही वैशाख २८ देखि जेठ २ गतेसम्म काठमाडौँ भृकुटीमण्डपमा इन्फोटेक आयोजना गर्दैछ।

नेपालमा सूचना, प्रविधि र मनोरञ्जन सम्बन्धी वार्षीक रुपमा आयोजना हुने प्रदर्शनी तथा सम्मेलन मुलुककै ठूलो प्रदर्शनीको यो २७ औं संस्करणको तयारीका काम निरन्तर भइरहेको अध्यक्ष नवराज कुँवरले जानकारी दिए।

उनका अनुसार विगतका वर्षहरुमा साधारणतया पुस/माघ/फाल्गुण महिनामा आयोजना भइरहेको क्यान इन्फोटेक, यो वर्ष भने कोभिड–१९ का कारण गत वर्षभन्दा करीब ३ महिना ढिला गरी आयोजना हुँदैछ।

इन्फोटेकमा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने उनले बताए।

‘इन्फोटेकलाई हामीले विश्व बजारसँग कसरी जोड्ने र विश्वमा विकास भइरहेका प्रविधिलाई नेपालमा ल्याउने प्रयासका साथै नेपालभित्रै पनि विकास भइरहेका नयाँ अनुसन्धानलाई आम उपभोक्ता माझ पुर्‍याउने काम गर्दै आएका छौं,’ उनले भने, ‘त्यसकै निरन्तरता र थप नयाँ आयामहरु यसपटकको इन्फोटेकमा रहनेछन्।’

क्यान इन्फोटेक २०२१ मा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टर तथा सुचना तथा संचार प्रविधि सम्वन्धि रोजगार केन्द्र रहने उनले बताए।

इन्फोटेकमा सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनी तथा बिक्रीमा रहनेछन्।

त्यसैगरी आर्टिफिसियल ईन्टेलिजेन्स सम्बन्धी जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *