काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा फेरि पनि कोभिड–१९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरी सुरक्षितरूपमा नयाँ वर्ष मनाउन सबैलाई आग्रह गरेका छन् ।

नयाँ वर्ष २०७८ सालको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उनले अनिवार्यरूपमा मास्क, स्यानेटाइजरको प्रयोग गर्नुका साथै भौतिक दूरी कायम गर्ने, भीडभाडयुक्त सार्वजनिक चियापान, भोजभतेरलगायत कार्यक्रम नगरी सुरक्षितरुपमा नयाँ वर्ष मनाउन आग्रह गरेका छन् ।
कोभिड–१९ ले आम नागरिकको दैनिक जीवनमा ठूलो असर पुर्याएको साथै उद्योग, व्यापार, विद्यालयलगायत धेरै क्षेत्र नराम्रोसँग प्रभावित भएको र कांग्रेसले जिम्मेवार प्रतिपक्षी दलका रूपमा चुनौतीलाई सामना गर्न सरकारलाई सम्पूर्ण रूपले सहयोग गरेको उनको भनाइ छ ।
सभापति देउवाले आम नेपाली नागरिकको सात दशक भन्दा लामो त्याग, तपस्या र बलिदानबाट प्राप्त नेपालको संविधानको कार्यान्वयन र संरक्षणका लागि सबै राजनीतिक दलबीच हार्दिक एकता कायम गर्दै लोकतन्त्रमा आधारित समतामूलक र समृद्ध नेपाल निर्माणमा अगाडि बढ्न सबैका लागि नयाँ वर्ष प्रेरणादायी बन्न सकोस् भन्ने कामना गरेका छन् । उनले यो वर्ष विश्वले कोभिड–१९ माथि पूर्णरूपले विजय पाउन सफल हुनेछ भन्ने विश्वासका साथ स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
