काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले डा.सन्दुक रुइतसहित ४ सय ५२ लाई नयाँ नक्सा अंकित पदकले सम्मान गरेकी छन्। पदकमा लिम्पियाधुरा-लिपुलेकसहितको नेपालको नयाँ नक्सा अंकित गरिएको छ।

मानपदवीतर्फ सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीमा एक, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणीमा तीन, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा सात, सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ८६, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीमा आठ, प्रबल जनसेवा श्री चतुर्थ श्रेणीमा २४२, जनसेवाश्री पञ्चम् श्रेणीमा १०४ तथा अलङ्कारतर्फ ११४, पदकतर्फ २७ गरी जम्मा ५९३ जनालाई विभूषण प्रदान गर्ने निर्णय सरकारले गरेको थियो।
केही दिन अगाडि वितरण गरिएको पदकमा लिम्पियाधुरा-लिपुलेक नसमेटिएको नेपालको नक्सा अंकित गरिएपछि सर्वत्र विरोध भएका कारण मन्त्रालयले विज्ञप्ती जारी गरी आउँदो वैशाख १ गते वितरण गरिने पदक नयाँ नक्सासहितको हुने प्रस्ट पारेको थियो।
