काठमाडाैं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार ढल्ने निश्चित भएको छ। नेकपा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन राष्ट्रिय जनमोर्चाले फिर्ता लिएसँगै मुख्यमन्त्री  गुरुङको सरकार संंकटमा परेको हो।                                                                                                                                           जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार जारी गरेको विज्ञप्तिमा गण्डकी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) अलग भएको स्थितिमा गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको र त्यसका क्रियाकलापहरुले पनि प्रतिगमनलाई मद्दत पुगेको उल्लेख छ।

गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ। मुख्यमन्त्रीमा माओवादी केन्द्र र नेका जुन आए पनि त्यो उनीहरुबीच बन्‍ने समीकरणको कुरा हो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसमा हाम्रो समर्थन रहनेछ। तर, त्यो सरकारमा हामी भने सहभागी हुने छैनौँ।’

जनमोर्चाको निर्णयलगत्तै नेपाली कांग्रेसका वार्ता समिति संयोजक एवं प्रदेशसभा सदस्य कुमार खड्काले अब अंकगणित प्रस्ट भएको र भोलि जनमोर्चासहितका अन्य दलको संसदीय दलका नेतासँग छलफलपछि अविश्वासको प्रस्ताव अघि बढ्ने बताए। हालसम्म मुख्यमन्त्रीको टुंगो नभएकाले यस बारेमा पनि सबै पार्टीसँग छलफल गरेर साझा उम्मेदवार प्रस्ताव गरिने उनको भनाइ छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी दलले यसअघि नै मुख्यमन्त्री गुरुङको विरुद्धमा अघि बढ्ने निष्कर्ष निकालिसकेका थिए।

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव तयारी अवस्था रहेको भए पनि ती सिट रहेको जनमोर्चाले पार्टी केन्द्रबाट निर्णय हुनुपर्ने भनेपछि यसअघि तीन दल रोकिएका थिए। ६० सिट रहेको गण्डकी प्रदेशमा दुवैतर्फका लागि निर्णायक जनमोर्चा रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *