काठमाडौँ ,०७७ सालको अन्तिम दिन शेयर बजार नेप्सेले ऐतिहासिक रेकर्ड बनाएको छ। आज नेप्सेले यस अघिका सबै रेकर्ड तोड्दै नयाँ इतिहास रचेको हो।

अहिलेसम्मकै उच्च विन्दु २७०० को रेकर्ड बनाउँदै आज २३ अंकले बढेको नेप्से २ हजार ७१४ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
आज सेन्सेटिभ इन्डेक्समा समेत करिव ६ प्रतिशतले सुधार आएको छ । सेन्सेटिभ इन्डेक्स ५.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज विकास बैंकको ३.४१ प्रतिशत र वाणिज्य बैंकको २.३ प्रतिशतको वृद्धिले दुई उपसमूहको सूचकमा उच्च अंकको सुधार आएको छ ।
यसअघि नेप्सेले सबै रेकर्ड ब्रेक गर्दा पनि बैंकिङ समूहको सूचकमा उल्लेख्य वृद्धि हुन सकेको थिएन। आगामी दिनमा पनि बैंकिङ समूह बढेको खण्डमा बजार थप बढ्न सक्ने शेयर बजारका विश्लेषकहरुले बताएका छन् ।
वर्षको अन्तिम दिन अधिकांश उपसमूह भने रातो देखिएका छन्। आज कारोबारमा आएको एनआइसी एसिया लघुवित्त, महिला लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक, छ्याङ्दी र माउन्टेन इनर्जी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
आज विकास बैंकको सूचक ९५ अंकले बढ्दा वाणिज्य बैंक समूहको सूचक ४२ अंकले बढेको छ। व्यापार समूहको सूचक ६९ अंक र जलविद्युत समूहको सूचक ३१ अंकले बढ्नु बाहेक अधिकांश उपसमूहको सूचक भने रातो भएको छ।
त्यस्तै, सबैभन्दा धेरै ओरालो लाग्नेमा निर्जीवन बीमा समूह ८८ अंक, होटल तथा पर्यटन ६५ अंक र जीवन बीमा समूह ५१ अंकले घटेका छन्। सबैभन्दा बढी कारोबार हुने कम्पनीहरुमा नबिल बैंक र नेपाल बैंक २८ करोड, एनआइसी एसिया बैंकको २४ करोड, निफ्राको २१ करोड र नेपाल बंगलादेश बैंकको १८ करोड रुपैयाँको शेयर किनबेच भएको छ।
२०९ कम्पनीको एक करोड ४६ लाख कित्ता शेयर सात अर्ब १५ करोड रुपैयाँमा किनबेच भएका छन्।
