क्वालालमपुर: सैनिकले सत्ता नियन्त्रणमा लिएपछि भएको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म कम्तिमा ७०१ जनाको मृत्यु भएको छ ।

आन्दोलनमा लागेकै आरोपमा तीन हजार एक सयभन्दा बढीलाई सुरक्षाकर्मीहरुले थुनामा राखेको विवरण सार्वजनिक भएको छ । गत फेब्रअरी १ तारिखका दिन म्यानमारको सेनाले सत्ता नियन्त्रणमा लिएको घोषणा गर्दै नेताहरुलाई थुनामा राखेको छ । सेनाले सत्ता हातमा लिएदेखि नै म्यानमारमा विरोध प्रदर्शन भइरहेको छ ।
अनुगमनकर्ताहरुले सार्वजनिक गरेको विवरणअनुसार अरु सयौँ व्यक्ति आन्दोलनका क्रममा घाइते भएका छन् भने कतिपयको अवस्था अझै अज्ञात रहेको छ । पछिल्लो पटक गत शुक्रबार मात्रै एकै दिनमा सुरक्षाकर्मीहरुको आक्रमणमा परी देशको बागो क्षेत्रमा कम्तीमा ८२ जनाको मृत्यु भएको थियो । केही हप्ता अगाडि म्यानमारमा प्रदर्शनकै क्रममा एकैदिनमा सयभन्दा बढीको हत्या भएको थियो ।
