दैलेख:जिल्ला अदालत दैलेखले बालिकालाई बलात्कार गर्ने एक युवकलाई १९ वर्ष कैदको सजाय तोकेको छ। दोषी करार हुनेमा दुल्लु नगरपालिका–४ का २४ वर्षीय दीपक विक हुन्।
अदालतका स्रेस्तेदार इन्द्रबहादुर कार्कीका अनुसार बालिका बलात्कार कसुरमा १८ वर्ष र पीडित सुस्त मनस्थितिकी भएकीले थप एक वर्ष गरी १९ वर्ष कैद सजाय तोकिएको हो। बालिकालाई क्षतिपूर्ति १ लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने र पीडित राहत कोषमा दुई हजार दुई सय रुपैयाँ जम्मा गर्न अदालतले आदेश गरेको कार्कीले बताए।

मदिरा सेवन गरेका ती विकले बालिकालाई चाउचाउको प्रलोभन देखाएर बाँसघारीमा पुर्याएर २०७६ मंसिर ३० गते बलात्कार गरेका थिए। पीडित बालिकाका आफन्तले २०७६ पुस ३ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएका थिए। उजुरी दिएकै दिन पीडित बालिकाको दुल्लु अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो।
प्रहरीले आरोपितलाई पक्राउ गरेपछि तयार पारेको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले जबरजस्ती करणीसम्बन्धी अभियोग पेस गरेको थियो। उक्त अभियोग सम्बन्धमा थुनछेक बहसपछि अभियुक्तलाई पुर्पक्षका लागि दैलेख जिल्ला कारागारमा थुनामा राखिएको थियो। पीडितको भजाइनल स्वाब राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो। प्रयोगशालाबाट त्यसको रिपोर्ट आउन ढिलाइ भएका कारण उक्त बलात्कार घटनाको फैसला एक वर्षपछि भएको हो। =स्रोत:अन्नपूर्ण पोस्ट
