काठमाडौं । नेपाल प्रहरीमा पछिल्लो ८ महिनामा २६ हजार ३०६ वटा घटना दर्ता भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार यो अघिल्लो वर्षको फागुन मसान्तसम्म दर्ता घटनाको तुलनामा १६.१६ प्रतिशतले कम हो ।

आर्थिक वर्ष २०७७ साउनदेखि फागुनसम्म सबैभन्दा धेरै आत्महत्याको ४ हजार ४८३ वटा घटना दर्ता भएका छन् । ‘आत्महत्यापछि सार्वजनिक हित सम्बन्धी कसूरमा ४ हजार ३६८ वटा घटना दर्ता भएको देखिन्छ’, ‘यही अवधिमा लागूऔषधको १ हजार ९८३ घटना दर्ता भएका छन् ।’
लागूऔषधपछि बैंकिङ कसूर, जबरजस्ती करणी र चोरीसम्बन्धी घटना क्रमशः १ हजार ६८८, १ हजार ६५३ र १ हजार ५६९ वटा घटना दर्ता भएको प्रहरीको तथ्यांक छ ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवरका अनुसार पछिल्लो ८ महिनामा हत्या सम्बन्धी ४४७ वटा घटना दर्ता भएका छन् । ०७६ साउनदेखि फागुनसम्मको अवधिमा दर्ता भएको घटनाभन्दा २१.१२ प्रतिशतले बढी हो ।
कुँवरका अनुसार यो अवधिमा चोरीका घटना चाहिँ कम भएका छन् । २०७६ साउनदेखि फागुनसम्मको अवधिमा २ हजार ७ चोरीका घटना दर्ता भएकामा यो वर्षको साउनदेखि फागुनसम्म १ हजार ५६९ घटना दर्ता भएका छन् ।
‘अघिल्लो आर्थिक वर्षको तुलनामा अहिले कर्तव्य ज्यान, जबरजस्ती करणी, करणी उद्योग, ज्यान मार्ने उद्योग, आत्महत्या लगायतका गम्भीर प्रकृतिका घटनाहरु बढेता पनि समग्रमा दर्ता भएका घटनाहरुको तुलनामा गर्दा गत आर्थिक वर्षभन्दा १६.१६ प्रतिशतले कम भएको छ’, कुँवरले भने । अहिलेको आर्थिक वर्षमा चोरी, बैंकिङ कसूर, ठगी जस्ता अपराध कम भएको पाइएको उनले बताए ।
नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीका अनुसार प्रहरीको आक्रामक कारबाही, अन्तरदेशीय र संगठित अपराध नियन्त्रणमा प्राथमिकता जस्ता विषयले संगठित प्रकृतिका अपराध घटेको हो । अहिले सामाजिक प्रकृतिको अपराधको संख्या बढी रहेको तथ्यांकले देखाउँछ ।
समाजशास्त्री काशीनाथ प्याकुरेलका अनुसार संगठित अपराध घट्नुमा कोरोना भाइरसको महामारीको पनि कारण देखिएको छ । ‘प्रहरी कारबाही त छँदैछ, महामारीका कारण संगठित र अन्तरदेशीय अपराधको चेन पनि खल्बलिएको छ’, उनी भन्छन् । महामारीकै कारण मानिसहरु जागिरविहीन हुँदा ठगी, लुटपाट र चोरी जस्ता घटना बढेको उनी बताउँछन् ।
