कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपिल गरेको छ।

सिसिएमसीको शनिबार बसेको बैठकले पछिल्लो समय कोभिड संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्ट समेत देखा परेको भन्दै सतर्कता अपनाउन राष्ट्रिय रूपमा अपिल गर्ने निर्णय गरेको हो।

बैठकपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले बैठकमा अहिलेको संक्रमणको स्थिति र तयारीको विषयमा छलफल भई आम रूपमा सतर्कता अपनाउन अपिल गर्ने निर्णय भएको बताए। यसबाहेक जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) लाई अझ बढी सक्रिय बनाउने निर्णय पनि गरेको छ।

सीमा नाकामा सञ्चालनमा आएका हेल्थ डेस्कहरूलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेस्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टिनमा राख्ने काम गर्ने निर्णय पनि बैठकले गरेको छ।

यसबाहेक कुनै पनि क्षेत्रबाट स्वास्थ्य मापदण्ड पालना नभई अटेरी रूपमा सञ्चालनमा आएको पाइए कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने पनि सचिव बरालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *