काठमाडौ, मधुमेह रोग लाग्नेबित्तिकै धेरैजसो मानिसमा भात खान नहुने मान्यता हुन्छ । भातमा हुने उच्च कार्बोहाइड्रेटको मात्राका कारण यसले चिनीको स्तरलाई बढाउन सक्ने हुँदा मधुमेह रोगीहरूले सेतो चामलको भात खान छोडेर उसिना चामल, ब्राउन राइस वा रोटीको सेवन गर्ने गर्छन् । हामीले खाने धेरैजसो खानामा कार्बोहाइड्रेट हुन्छ । रगतमा चिनीको मात्रा बढ्ने वा घट्ने खानामा हुने कार्बोहाइड्रेटको मात्रामा मात्र नभई उक्त खानालाई पचाउनका लागि चाहिने समयमा पनि निर्भर हुन्छ ।

कुन खानाले छिटो वा ढिलो समयमा रगतमा चिनीको मात्रा बढाउँछ भन्ने बुझ्नका लागि खानालाई त्यसको ग्याइसेमिक इन्डेक्स (जिआई) का आधारमा छुट्याउन सकिन्छ । जिआई कम हुने खानाले रगतमा ढिलो र कम मात्रामा चिनी रिलिज गर्छ भने जिआई बढी हुने खानाले छिटो र बढी मात्रामा रगतमा चिनीको मात्रा रिलिज गर्ने हुन्छ ।

खानामा ७० वा सोभन्दा बढी जिआई भएमा यसलाई अत्यधिक (हाई) जिआईयुक्त खाना भएको मानिन्छ । दैनिकजसो खाइने भातको जिआई ७० देखि ७५ हुने हुँदा मधुमेहका बिरामीले भात खान हुँदैन भन्ने मान्यता राख्छन् । तर, ब्राउन राइसको ६५ देखि ७० र गहुँको आटाको रोटी वा उसिना चामलको जिआई पनि करिब ७० सम्म हुन्छ । जुन भातको जिआईसँग मिल्न जान्छ ।

एउटा रोटी, वा आधा कचौरा भातको सेवन गर्दा रगतमा चिनीको मात्रा उत्तिकै तरिकाले बढ्ने हुन्छ । त्यसैले मधुमेहपीडित व्यक्तिले भातको सेवन गर्न मिल्छ तर, त्यस्को साटो कार्बोहाइड्रेटको मात्रालाई ध्यानमा राख्न जरुरी हुन्छ । सबै अन्नमा लगभग उस्तै मात्रामा कार्बोहाईड्रेट पाइने भएकाले जुन अन्न खाए पनि अनुपात मिलाएर र अन्नभन्दा धेरै तरकारीको सेवन गर्नुपर्छ ।

मधुमेहका बिरामीले खानामा हाइ जिआई भएको र कम जिआई भएको (हरियो सागसब्जी तथा सलाद)लाई मिसाएर सेवन गरेमा खाना बिस्तारै पच्ने हुन्छ जसकारण रगतमा चिनीको मात्रा पनि बिस्तारै रिलिज हुने वा बढ्नेगर्छ । यसरी सबै मिश्रण गरेर खाएको खानाको जिआई स्वतः घट्न गई रगतमा चिनीको मात्रा ह्वात्तै बढ्न पाउँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *