राजेन्द्र बोहरा
बलिउड संसारमा धेरै जोडीहरू फिल्मी पर्दामा मात्र होइन, वास्तविक जीवनमा पनि जोडी बन्ने गर्छन् ।ती जोडीहरू कुनै सफल छन् भने कुनै छोटो समयमै अलग हुने गर्दछन् ।यस्ता सन्दर्भहरू कोट्याएर त्यहाँका प्रेम कथाहरू केलाउँदा एउटा जोडीको पुरानो कथा अहिले पनि ताजै र आलै भएर आउने गर्दछ । त्यो कथा हो- अमिताभ बच्चन र रेखाको ।

यो जोडीको प्रेमकथा त टुङ्गियो तर यात्राचाहिँ अधुरै रहेको थियो । हिन्दी सिनेमा जगतका विलक्षण पात्रको अधुरो प्रेमयात्रा भएकाले हुनसक्छ,उनीरूको कथा आज पनि ओसिलै रहेको छ। यद्यपि अमिताभले कहिल्यै पनि आफ्नो र रेखाको सम्बन्धको बारेमा कुरा गरेनन् ।
तर रेखाले चाहिँ बेला-बेला तीतो वर्तमानको भुइँमा उभिएर व्यथाले टम्म भरिएको छाती लिई टुटे-फुटेको भाषामा आफ्ना कथा व्यक्त गर्ने गर्छिन्।

८०को दशकतिर रेखा र अमिताभको जोडीको विषयमा धेरै नै चर्चामा हुने गर्दथ्यो। उनीहरूले काम गरेको अन्तिम फिल्म यश चोपडाको ‘सिलसिला’ मा अमिताभ बच्चन र रेखाका साथ जया बच्चनको पनि महत्वपूर्ण भूमिका थियो। जसमा उनीहरूको त्रिकोणात्मक प्रेमलाई अत्यन्त सुन्दर ढङ्ले प्रस्तुत गरिएको थियो। संयोग यस्तो भयो , सो फिल्मको कथा र उनीहरूको वास्तविक जीवनबीच मेल हुन गएको थियो ।

अमिताभ र जयाको विवाहको सम्बन्धमा रेखाले एकपटक अन्तरवार्तामा भनेकी थिइन् ,”म जयालाई धेरै नै सरल मानिस ठान्थें। मैले उनलाई सधैं आफ्नै बहिनी ठान्थेँ। उनी पनि मलाई त्यस्तै सम्झेझैँ गरी बेला-बेला सल्लाह दिने गर्थिन्।तर पछि मैले थाहा पाएँ, उनी मलाई नियन्त्रणमा राख्न खोज्दी रहिछन्। उनीभित्र मप्रति कताकता शत्रुताको भावना रहेछ। यही कारण हामी एउटै भवनमा बस्थ्यौँ तर पनि तिनीहरूले मलाई उनीहरूको विवाहमा निम्ति गरेका थिएनन्।

मिडियासँगको कुराकानीमा अमिताभ र आफूबीचको प्रेम प्रसङ्ग उठ्दा रेखाले कुरा लुकाउन खोजे पनि सक्दिनन्, तर त्यो सम्बन्धको बारेमा कुरा उठ्दा विषयलाई पाखा लगाउन जया बच्चन प्राय: सफलै रहन्छिन्। उनलाई रेखा-अमिताभको मायाप्रेमको सन्दर्भ उठान भएको मन पर्दैन।जयाले एकपटक रेखाको नाम नलिई अन्तर्वार्तामा भनेकी थिइन्,”कुनै पनि विषयमा प्रतिक्रिया दिनु मानव स्वभाव हो।तर सही र गलत दुवैतर्फबाट प्रतिक्रिया देखाउनु पर्छ ।”

अमिताभ र रेखा दुवैको जीवनले लामो समय पार गरिसकेको छ।उनीहरूको प्रेममिलनले विश्राम लिएको पनि वर्षौँ भइसकेको छ।तर पनि त्यो वियोगान्त कथाका तरङ्गहरू आज पनि मानव मानसपटलमा उद्वेलित भइरहने गर्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *