काठमाडौ, माइग्रेन एक किसिमको दीर्घकालीन टाउको दुख्ने समस्या हो । सामान्यतया माइग्रेनले टाउकोको आधा भाग दुख्छ । जुन चार घण्टा वा सोभन्दा बढी समयसम्म रहनसक्छ ।

कतिलाई टाउकोको दुवैपट्टि वा पुरै टाउको पनि दुख्ने हुनसक्छ । केही समय अन्तरालपछि टाउको दुख्ने, टाउको दुख्दा टाउको चट्चट् भएको महसुस हुने, वाकवाकी लाग्ने, वान्ता हुने, आँखा धमिलो देख्ने, प्रकाश हेर्न, बोल्न वा बोली सुन्न मन नलाग्ने, झर्को मान्ने हुन्छ ।
मष्तिष्कभित्र हुने स्नायु नसा र रगत सञ्चार गर्ने धमनीमा हुने कार्यमा गडबडी हुँदा या यिनीहरूले राम्रोसँग कार्य गर्न नसक्दा पनि माइग्रेन हुन्छ । वंशाणुगत कारणबाहेक विभिन्न कारण (वातावरण, तनाव, निद्रा नपुग्दा, कामको चाप, अस्वस्थकर जीवनशैली, केही खाना)ले माइग्रेनको टाउको दुखाइलाई बढावा दिने (माइग्रेन ट्रिगर) काम गर्छ ।
मानिसहरू माइग्रेनलाई सामान्य टाउको दुखाइको समस्या सोचेर पेन किलरको सेवन गर्ने गर्छन् । तर, पेन किलरले केही समयको टाउको दुखाइ कम गरे पनि माइग्रेन निको पार्न सक्दैन । विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका कन्सल्ट्यान्ट न्युरोलोजिस्ट डा. विवेक रौनियारका अनुसार माइग्रेन एक न्युरो भास्कुलर अवस्था हो, जसको सही उपचार औषधि उपचार होइन ।
अस्पताल गइ डाक्टरको परामर्शमा लिइएको माइग्रेनको औषधिले स्नायु नसा र रगत सञ्चार गर्ने धमनीले गर्ने कार्यमा हुने गडबडीलाई हटाउन काम गर्छ । माइग्रेनको औषधि ६ महिनादेखि एक वर्षसम्म खानुपर्ने हुनसक्छ । तर, औषधिको प्रयोगले मात्रै माइग्रेन निको नहुने उनको भनाइ छ ।
औषधिबाहेक जीवनशैलीमा परिवर्तन, पर्याप्त निद्रा, समयमा सुत्ने, उठ्ने तथा खाने बानी बनाएर, खानामा सन्तुलित आहार, सागसब्जी, फलफूललगायत स्वस्थ खानाको मात्रा समावेश गर्नाले, पर्याप्त पानी पिउने, व्यायाम, शारीरिकरूपमा सक्रिय रहनाले माइग्रेनको समस्याबाट केही हदसम्म राहत पाउन सकिन्छ ।
त्यस्तै, माइग्रेन हुनसक्ने वा यसलाई ट्रिगर गर्न सक्ने कारण थाहा पाई यी सबै कुराबाट सकेसम्म टाढा रहनुपर्छ । चर्को घाम तथा भिडभाड भएको ठाउँमा नजाने, तनाव नलिने गर्नुपर्छ । चिया, कफी, जङ्क फुड, चिज, गुन्द्रुक, क्यान फुड, अमिलो वा पुरानो अचारलगायतले पनि माइग्रेनलाई ट्रिगर गर्ने हँुदा ज–जसलाई जुन–जुन खानाले माइग्रेन ट्रिगर गर्छ उक्त खाना त्याग्नु नै उचित हुन्छ ।
