काठमाडौं, चैत २६ गते । यातायात व्यवस्था कार्यालय नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्षसहित १९ जनाविरुद्ध आरोपपत्र दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परीक्षा समितिका अध्यक्ष पवन सुवेदीसहित १९ जनाविरुद्ध परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
आयोगले तत्कालीन कार्यालय प्रमुख एवं परीक्षा समितिका अध्यक्ष पवन सुवेदी, शाखा अधिकृतद्वय सीताराम खनाल, डेकराज पोखरेल र ध्रवराज देवकोटा, नायव सुब्बा ललितबहादुर वली, केशराज डाँगी, हुतराज पौडेल, सतानन्द उपाध्याय (न्यौपाने), अरुणकुमार गौतम, धर्मदत्त चौलागाई, डिलाराम खरेल, ओमबहादुर बस्नेत, गणेशमान आचार्य, सावित्री पौडेलविरुद्ध आरोपपत्र दायर गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।
त्यस्तै खरिदार चन्द्रमणी नेपाली, केशरकुमार चापाई, हलुका सवारी चालक ध्रुवराज अर्यात, प्रहरी सहायक निरीक्षक प्रकाश पसन र प्रहरी जवान ओमप्रसाद देवकोटा रहेका छन् ।
आयोगले सूचना जारी गर्दै सुवेदीले यातायात व्यवस्था कार्यालय नेपालगञ्जबाट लिइएको दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्र सम्बनधी लिखित परीक्षाको नतिजामा परीक्षा समितिको बैठक नै नबसी सदस्यहरुलाई भूमिकाविहीन बनाइएको बताइएको छ ।

परीक्षा समितिको अध्यक्षको हैसियतमा कार्य नगरी आफूखुसी मौखिक आदेशमा समेत उत्तरपुस्तिका परीक्षण गर्न लगाई लिखित परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरुको नतिजा फेरबदर गर्ने कार्यमा सुवेदी प्रत्यक्ष संलग्न रहेको देखिएको प्रवक्ता रिसालले जानकारी दिनुभएको छ ।
यसैगरी चालक अनुमतिपत्रको लागि लिखित परीक्षाको उत्तरपस्तिका परीक्षण गरी नतिजा प्रकाशनसम्मको कार्यको जिम्मा पाएका शाखा अधिकृत खनाल र पोखरेलले लिखित परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरुको नतिजा फेरबदल गर्ने कार्यमा प्रत्यक्ष संलग्न देखिएको अनुसन्धानबाट पुष्टि भएको उहाँले बताउनुभयो ।
लिखित परीक्षाको परिणाम फेरबदल गरिएका उत्तरपुस्तिकाहरुको सनाखत गरी परीक्षण गरेको हो भनी स्वीकार गरेकाले उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ बमोजिम सजाय माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।

