२६ चैत, काठमाडौं । गत वर्ष सिन्धुपाल्चोक, बाग्लुङसहितका जिल्लामा गएका बाढी र पहिरोका कारण क्षति पुगेका घरको पुननिर्माणका लागि पहिलो किस्ताको रकम दिने निर्णय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सबेको विपद जोखिम न्यूनिकरणको राष्ट्रिय परिषद् बैठकले पहिलो किस्ताको रकम दिने निर्णय गरेको हो ।

 

विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार विपद व्यवस्थापन कोषमा रहेको रकममध्ये ५० करोड रुपैयाँबाट तीन हजार घर पुनर्निमाणका लागि रकम दिने निर्णय भएको छ ।

‘मनसुसजन्य विपदका कारण घरमा क्षति पुगेका परिवारका लागि पुननिर्माण गर्न सहयोग सम्बन्धी कार्यविधि पहिल्यै बनिसकेको थियो, तर बजेट अभावमा रकम पठाउन सकेका थिएनौं’, पोखरेलले अनलाइनखबरसँग भने, ‘यो निर्णयसँगै चाँडै पहिलो किस्ताको रकम वितरण हुनेछ ।’

कार्यविधि अनुसार घर पुननिर्माणका लागि हिमाली जिल्लामा ५ लाख, पहाडीमा ४ लाख र तराईमा ३ लाख रुपैयाँ प्रतिघर दिने उल्लेख छ । बैठकमा यस वर्ष आगलागीबाट क्षति पुगेका घरको पुनर्निमाणमा सहयोग गर्ने सम्बन्धमा पनि तयारी थाल्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् ।

गत २१ चैतमा बाँकेको नरैनापुर गाउँपालिका–४, खोदवा गाउँमा भएको आगलागीमा परेर १२० वटा घर टहरा जलेका थिए, जुम्लाको तिला गाउँपालिकामा पनि ३५ घर नष्ट भएका छन् ।

ती ठाउँमा घर निर्माणका लागि सहयोग गर्न एकीकृत कार्यविधि बनाउने तयारी थालिएको प्राधिकरणका सीइओ पोखरेलले बताए ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *