काठमाडौं, भारतमा कोरोना भाइरसबाट एकै दिनमा एक लाख २६ हजारभन्दा बढी सङ्क्रमित फेला परेका छन् ।

बिहीबारको भारतीय स्वास्थ्य मन्त्रालयको डाटाअनुसार भारतमा थप एक लाख २६ हजार सात सय ८९ जना मानिसमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । गत सेप्टेम्बरदेखि भारतमा एक दिनमा भेटिएको सङ्क्रमितको सङ्ख्या हालसम्मकै उच्च रहेको छ । योसँगै भारतमा सङ्क्रमित हुनेको कुल सङ्ख्या एक करोड २९ लाख २६ हजार नाघेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणबाट थप ६ सय ८५ जनाको मृत्यु भएको छ । गत नोभेम्बरदेखि भारतमा एक दिनमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या हालसम्मकै उच्च रहेको छ । योसँगै भारतमा सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या एक लाख ६६ हजार आठ सय ९२ पुगेको छ ।
भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या नौ लाख १० हजार दुई सय ८९ रहेको छ । २४ घण्टामा ५९ हजार दुई सय ५८ जना सङ्क्रमणबाट मुक्त भएसँगै हालसम्म एक करोड १८ लाख ५१ हजारभन्दा बढी मानिस सङ्क्रमणबाट निको भइसकेका छन् । भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्टका कारण सङ्क्रमण बढ्दो क्रममा छ ।
