काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता नवीन्द्रराज जोशीको निधनले पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताएका छन् ।

स्वर्गीय नवीन्द्रराज जोशीको निधन भएको १३औं दिनको पुण्यतिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले स्वर्गीय जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको बताए । उनले स्वर्गीय नेता जोशीमा पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको र उनको निधनले पार्टी हाँक्ने नेता गुमाउनु परेको बताए।
उनले भने ‘यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन आज पनि छैन । भोलि पनि रहँदैन । नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउँदै गएका छौं। पार्टी जीतहारले संकटमा नभइ धेरै पटक हामी हारेका छौं । धेरै पटक जितेका पनि छौं । त्यसैकारण हामीले डिमोरलाइज हुने काम छैन । आफैंले आफैंलाई कमजोर गर्ने काम पनि छैन । त्यसैले हाम्रो पार्टी संकटमा छैन ।’
कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय जोशीको असामयिक निधनले पार्टीमा अपूरणीय क्षति पुगेको बताए। स्वर्गीय जोशीले थालेको कामलाई सबै मिलेर सम्पन्न गर्नमा पनि जोड दिनुपर्ने उनको भनाइ थियो।

