काठमाडौँ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले समयको गतिसँग निजामती प्रशासन परिवर्तन हुन नसकेको आरोप लगाएका छन् । बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरूबीच निजामती सेवाका विभिन्न पक्षमाथि भएको अन्तरक्रियामा उपप्रधानमन्त्री पोखरेलले त्यस्तो आरोप लगाएका हुन्।

प्रशासनलाई उनले ‘झिङ्गे टसाइ’को सोचबाट मुक्त हुन पनि आग्रह गर्दै भने, ‘नतिजाभन्दा बढी प्रक्रियामा केन्द्रित भएकाले पनि प्रशासन निकै कमजोर छ ।’ निजामती कर्मचारी सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको उनको आरोप छ ।
ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न नसक्ने सकेसम्म्म हिचकिचाउने जसता प्रवृत्ति निजामती कर्मचारीमा रहेको उनले बताए । उनले निजामतीभित्र पनि राजनीतिक भावमा काम हुने पाटो पनि उजागर गर्दै भने, ‘विभिन्न समस्यासँग तर्सनेलगायत प्रवृत्तिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठ्ने गरेको छ ।’
शासन प्रणालीलाई सुदृढ र सबल बनाउने मूल जिम्मेवारी निजामती प्रशासनको काँधमा भएकाले यसमा सचेत हुन आवश्यक रहेको उनले बताए । निजामती कर्मचारी जनताको करबाट चल्ने हुनाले उनीहरु जनताप्रति उत्तिकै लोकप्रिय हुन आवश्यक रहेको बताए ।

