काठमाडौं : माधव नेपाल समूहनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।

निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएपछि अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।

अनेरास्ववियुले विरोध प्रदर्शनपछि निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलसमक्ष ज्ञापनपत्र समेत बुझाएको छ ।

ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको बताए ।

मूल्यवृद्धिबाट लाखौं विद्यार्थीमात्रै नभई जनसमुदायमाथि पनि सिधा प्रहार भएकाले यसलाई स्वीकार्न नसकिने उनको भनाइ छ ।

यस्तै उपभोक्ता, विद्यार्थी, श्रमजीवी वर्गमाथि मूल्यवृद्धिले पारेको असरप्रति जिम्मेवार बन्न र मूल्यवृद्धि खारेज गर्नसमेत अनेरास्ववियुले माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै निगमका कार्यकारी निर्देशक पौडेलले प्रत्येक पन्ध्रपन्ध्र दिनमा मूल्य समायोजना गर्ने व्यवस्था अनुरुप मूल्य वृद्धि गरिएको प्रष्टीकरण दिएका छन् ।

निगमसँग भण्डारण क्षमता नभएकोले भारतले मूल्य बढाउने वित्तिकै नेपालमा पनि मूल्य बढाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

यद्यपि, विद्यार्थीहरुको माग जायज भएकाले ज्ञापनपत्रलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाउनेसमेत बताए । उनले आयल निगमले घाटामा गएर तेलको व्यापार गर्न नसक्ने पनि स्पष्ट पारे ।

मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२० रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०३ रुपैयाँ पुगेको छ ।

आयल निगम घेराउ गर्न पुगेका विद्यार्थीहरुले ‘मूल्यवृद्धि खारेज गर’, ‘नालायक सरकार राजीनामा दे’ लगायतका नारा लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *