भक्तपुर: प्रसिद्ध बिस्केट जात्रा यस वर्ष पनि स्थगित भएको छ । भक्तपुरमा मनाइने बिस्केट जात्रा कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै गत वर्षजस्तै यस वर्ष पनि नमनाइने भएकाे हो ।

आइतबार कोभिड- १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको बैठकले जात्रा रोक्ने निर्णय गरेको हो । जात्रामा भीडभाड हुने र त्यसले कोभिड- १९ को संक्रमण फैलन सक्ने भएकोले स्थगित गर्नुपरेको बताइएको छ ।
‘भक्तपुर जिल्लामा मनाइने बिस्केट जात्रामा रथ तान्ने तथा लिङ्गो ठड्याउने काममा हजारौँ भक्तजनहरू सहभागी हुने गरेको तथा सो भीडभाडले कोभिड- १९ को संक्रमण फैलिन गई भयावहको अवस्था सिर्जना हुन सक्ने सम्भावना रहेकोले यस वर्षको बिस्केट जात्रामा पुजारीलाई मात्र राखेर पूजा गर्ने तथा रथ तान्ने र लिङ्गो ठड्याउने काम गत वर्ष जस्तै यस वर्ष पनि नगर्ने ।’ केन्द्रको बैठकले गरेको निर्णयमा भनिएको छ ।
उक्त बैठकले कोभिड- १९ नियन्त्रणका लागि नेपाल सरकारबाट जारी भएको मापदण्डहरूको उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्ने निर्णय पनि गरेको छ ।
