कर्णाली प्रदेश संसदीय दल बैठकले सरकारमा सहभागी भएका मन्त्रीलाई २४ घण्टाभित्र राजिनामा दिन भनेसँगै माओवादी नेतृत्वको सरकार धरापमा परेको छ । एमालेले समर्थन फिर्ता लिए माओवादी अल्पमतमा पर्छ ।

संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई मार्गप्रशस्त गर्न अनुरोध गर्ने निर्णय आइतबार नै गरिसकेको छ ।
यस्तै संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालाई २४ घण्टाभित्र राजिनामा दिन भनिसकेको छ ।
एमाले कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावजंग शाहले मन्त्रीहरूले सोमबारसम्ममा दिने प्रतिबद्धता जनाएको जानकारी दिए ।
